द्वन्द्वकालिन मुद्दा सार्न मिल्दैनः महान्यायाधिवक्ता
महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।
द्वन्द्वकालिन घटनाको न्यायोचित सम्बोधनका लागि आफ्नो सहयोगी भूमिका हुने भन्दै श्रेष्ठले गम्भीर मानव अधिकार उलंघनका घटनामा कसैले पनि माफी नपाउने बताए ।
यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोगले पनि गम्भीर अपराधका घटनामा आममाफी दिन नसकिने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष स्पष्ट पारिसकेको छ ।
सोमबार रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइर्नसमा पत्रकार दिनेश पाण्डेसँग कुरा गर्दै प्रधानमन्त्रीको कानुनी सल्लाहकार समेत रहेका श्रेष्ठले द्वन्द्वकालिन घटनामा दोषी ठहर भए प्रधानमन्त्री प्रचण्डलाई समेत कारवाही हुनसक्ने बताए ।
उनले भने- ‘भिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौताको नेपाल पक्ष राष्ट्र भएकाले गम्भिर अपराधमा कसैलाई पनि उन्मुक्ति दिन सकिदैन, यदी राज्य शक्तिको दुरुपयोग गरेर कसैलाई माफी दिने प्रयास भए अन्तर्राष्ट्रिय कानुनले छाड्दैन् ।’