को हुन् माओवादी मुख्यालय पेरिसडाँडा कब्जा गर्ने लेनिन विष्ट ?

काठमाडौं : सोमवार बर्हिगमित पूर्व जनमुक्ति सेनाको एक समूहले माओवादी मुख्यालय पेरिसडाँडामा ताला लगाएको खबर सनसनी बन्यो । कार्यालयको मूल गेटमा ताला लगाएपछि कार्यालय सचिव प्रकाश पोखरेल, शिव खकुरेल लगायत १५ जनाको टोली रातभर कार्यकक्षमै बस्न बाध्य भए। अयोग्य लडाकुको नाममा पेरिसडाँडामा रहेको माओवादी कार्यालय कब्जा गर्नेहरुको नेतृत्व बर्हिगमित पूर्व जनमुक्ति सेनाकै लडाकू लेनिन विष्टले गरेका थिए। लेनिन विष्ट काभ्रेमा जन्मेका हुन्। उनले व्याचलर सम्म अध्ययन गरेका छन् । जनमुक्ति सेनामा लागेर निकै लामो समयसम्म जनयुद्ध लडेका हुम्लाका भीम बहादुर थापाले लेनिन विष्ट छोटो समयमा पैसा र चर्चा कमाउने लालसामा रहेको आरोप लगाए।

यसरी गठन भएको थियो अयोग्यहरुको संगठन

२०६८ सालको पौष महिनामा १ सय ५० जना जति अयोग्य लडाकुहरु काठमाडौंको कलंकीमा भेला भएर बर्हिगमित जनमुक्ति सेना नेपाल गठन गरेका थिए। त्यतिवेला कृष्ण प्रसाद दंगाल अध्यक्ष, भीम महासचिव भएर कमिटी गठन गरिएको थियो । त्यतिवेला संगठनको उच्च पदमा बसेर काम गरेका कतिपय अयोग्य लडाकुहरु यहाँ ज्यान पाल्न नसकेपछि विदेशका खाडीमा पुगेको भीमले बताए। त्यतिबेला संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को अयोग्यको सूचिमा परेका ४ हजार ८ जना मध्येका उनीहरुले एउटा उद्देश्य र निष्ठाका साथ बर्हिगमित जनमूक्ति सेना नेपाल गठन गरेका थिए। एउटा उत्साह संगालेर, कानुनी लडाँइ लड्ने र आफ्नो गुमेको पहिचान प्राप्त गर्ने अठोटका साथ यो संगठन गठन गरिएको भीमले स्मरण गरे। पूर्व लडाकूहरुका अनुसार संगठन गठन भएको एक वर्षपछि मात्र लेनिन विष्ट संगठनमा आवद्ध भएका थिए भने वुटवलमा भएको दोश्रो महाधिवेशनले सागर लिम्वुलाई अध्यक्ष र लेनिन विष्टलाइ उपाध्यक्ष बनाएको थियो। लेनिन चितवनमा रहेको तेश्रो डिभिजन अन्तर्गत क्यान्टोनमेन्टमा बसेको र त्यहीँवाट अनमिनको प्रमाणिकरणमा अयोग्यमा परेको तत्कालिन डिभिजन कमाण्डर धनबहादुर मास्कीले जानकारी दिए ।


केन्द्रिय उपाध्यक्ष भएर काठमाण्डौं आइसकेपछि लेनिन धेरै सक्रिय हुन थालेका थालेको बताइन्छ । यहि बीचमा बर्हिगमित जनमुक्ति सेना नेपालले पार्टी कार्यालय पेरिसडाँडामा घेराउ गरेर १७ दिनसम्म पार्टी कार्यालयमा आन्दोलन गरेको थियो । आफूहरु माथि लगाइएको अयोग्यको विल्ला खारेज हुनुपर्ने, स्वेच्छिक अवकाशमा आएकाहरु सरह आफूहरुलाइ पनि रकम दिइनुपर्ने, रोजगारीको व्यवस्था हुनुपर्ने, घाइतेहरुको उपचार हुनुपर्ने लगायतका माग राखेर त्यो आन्दोलन गरिएको थियो । पछि पार्टीले उनिहरुलाई केही रकम दिने भन्ने सहमतिमा आन्दोलन फिर्ता लिइएको थियो । त्यसलगत्तै तत्कालिन एमाओवादीका नेता टोप बहादुर रायमाझी शान्ति मन्त्री भएको समयमा क्याविनेट वैठकबाटै पास गराएर सरकारले खर्च स्वरुप १५ लाख रुपैंया बर्हिगमित लडाकुको लागि दिएको थियो । त्यतिबेलै केहि मन मिल्ने साथीहरु लिएर उनले आफ्नै अध्यक्षतामा बर्हिगमित जनमुक्ति सेना नेपाल नामक समानान्तर संगठन खोलेका जानकारहरु बताउँछन् । पछि उनले त्यहीँ नाममा एउटा एनजिओ पनि दर्ता गराएको स्रोत बताउँछ । शान्ति मन्त्रालयले दिएको १५ लाख अनियमितताको आरोपमा प्रहरीले पक्राउ समेत गरेको पूर्वअध्यक्ष भएमले जानकारी दिए । त्यतिवेला शान्तिमन्त्री रहेका रायमाझीले लेनिनको संरक्षण गर्ने गरेको सागर लिम्वुले बताए । केही समय पछि कल वाइपास अर्थात (भिओआइपि) गरिरहेको अवस्थामा लेनिन पुनः प्रहरीवाट पक्राउ परेर एक वर्षसम्म थुनामा परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।

के भन्छन् लेनिनसँग काम गरेका बर्हिगमित लडाकूहरु ?

तत्कालिन अध्यक्ष सागर लिम्वु भन्छन् — सफलताको शिखरमा पुग्न लागेको बर्हिगमित लडाकूहरुको आन्दोलन लेनिनकै कारणले असफलता तिर गयो। सागरको भनाईमा अध्यक्ष अर्जुन वुढाथोकी पनि सहमति जनाउँदै थप्छन्, –लेनिन अयोग्य लडाकुको नाम वेचेर माओवादी पार्टी र समग्र माओवादी आन्दोलन प्रति प्रहार गर्न चाहन्छन्। एनजिओकर्मी कनकमणी दिक्षित तथा अरु मानवअधिकारकर्मीबाट उनी परिचालित भएको पूर्वलडाकूहरु दाबी गर्छन्। भीमले भने — ‘मेरो आफ्नो व्यक्तिगत जीवनको लागि म संगठनको नाम बेच्न चाहन्न । मेरो अधिकार पाउनको लागि मेरो पार्टी माथि प्रहार गर्न चाहन्न । कनकमणि दिक्षितले माओवादीका विरुद्धमा आन्दोलन गर्छौ भने रातारात धनी वनाइदिन्छु् भनेर प्रलोभन देखाउँदा पनि मैले पैसाको लागि आफ्नो आस्था वेच्न सक्दिन भनेर फर्केर आएको हुँ, लेनिन पैशाको प्रलोभनमा विकिसकेका छन्।’

कार्यालय घेर्नेहरुलाई ज्याकेट उपहार

माओवादी कार्यालय घेराउमा सहभागी भएकाहरुलाई लेनिन नेतृत्वको संगठनले ज्याकेटको सेट उपहार स्वरुप प्रदान गरेको थियो। ‘हामीसँग के खाने, कहाँ बस्ने भन्ने समस्या छ। गाडी भाडा तिर्ने पनि पैसा छैन। लेनिनहरु ज्याकेट उपहार वाँडिरहेका छन्। उनि केही जागिर पनि गर्दैनन्। उनीसँग त्यसो गर्ने खर्च कहाँवाट आँउछ ?’ — वहिर्गमित पूर्वलडाकुले प्रश्न गरे। उनले देशभरका पूर्व लडाकूलाई लेनिनले प्रलोभनमा पारेर राजधानी बोलाएको समेत दाबी गरे। लेनिन विष्टले बर्हिगमित लडाकुको संवेदना वेचेर चर्चा कमाइरहेको आरोप सागर लिम्वुको छ । लिम्वुले फोन संवादमा भने —रक्तचन्दन तस्करीदेखि कल वाइपास सम्मको आरोपमा ऊ जेल परिसकेको छ । खास युद्ध लडेर, विचार र प्रतिवद्धताका साथमा आन्दोलनमा सहभागी भएको जस्तो लाग्दैन ।’ विष्ट अगाडि थप्छन् — लेनिन डलरवादीहरुसँग मिलिसकेका छन् भन्ने कुराको प्रमाण उनका माग र नाराहरुले पनि पुष्टि गर्छन् । उनी माओवादीले युद्धमा वालवालिकाहरु प्रयोग गरेको कारण आफूले पढ्न नपाएको र वाल अधिकार हनन भएको खालका नाराहरु उचाल्छन जवकी अयोग्य भनेर शिविरवाट रित्तो हात घर फर्काइएका पूर्व जनमूक्ति सेनाहरु कोही पनि वालवालिका थिएनन् । उमेर पुगिसकेका, धेरै ठाँउ युद्धमा भाग लिएका र अनुभवी र पाका सेनाहरु पनि थिए।

के भन्छन् लेनिन ?

उनको भनाई उनकै शब्दमाः पार्टीका एक दुई जना नेताको चाकडी गरेर हाम्रो मुद्धा सफल हुँदैन । माओवादीकी प्रवक्ता समेत रहेकी नेत्री पम्फा भुसालले गैरजिम्मेवार अभिव्यक्ति दिएकी छन् । एउटा जिम्मेवार नेताले यसरी वोल्न मिल्दैन । म बर्हिगमित जनमूक्ति सेनाहरुको पक्षमा स्वतन्त्र तरिकाले लड्न चाहन्छु । हाम्रो भविष्य वार्वद गर्नेहरुको पछाडि लाग्दिन। हामी सत्य र न्यायको पक्षमा छौं, त्यसैले हाम्रो मुद्धामा राजावादी र हिन्दुवादीले सपोर्ट गर्छन् भने पनि हामीलाइ स्वीकार छ । त्यसको लागि कनकमणीसँग मात्र होइन, जो सुकैसँग पनि हामी मिल्न तयार छौं। म माथि लगाइएका सवै आरोप गलत हुन् । प्रमाण ल्याउनुस् । अनि मात्र स्विकार गर्छु । कसैलाइ भेट्दैमा र कुरा गर्दैमा उसैको पछि लागेको हुन्छ भने हिजो काँग्रेसलाई ‘दुश्मन’ मान्ने प्रचण्डहरु आज किन सँगै घाँटी जोडेर एउटै सरकारमा बसिरहेका छन् ?
Previous Post Next Post