चाँदनी के.सी.ले लेखिन आफुलाई छोडेर संसारबाट गएको जीवनसाथीलाई पत्र


प्रिय, सरोज
त्यो अदृश्य संसारमा रहेको तिमीलाई मिठो माया अनि सम्झना । जसोतसो परान धानिरहेकी छु । त्यहाँ तिम्रो के छ हाल मैले बुझ्न सकेकी छैन ।
नसम्झनु थियो तिमीलाई तर बिर्सु म कसरी ? जिन्दगीको त्यो दौरानमा तिमीसँग बिताएका ति पलहरु । अनि ति अनगिन्ति क्षणहरु । जुन मैले तिमीसँग बिताएकी थिएँ । कति सपनाहरु तिमीले अधुरा छाडेर गयौं, अनि कति मनहरु रुँवाएर गयौं । त्यसैले होला कुनै पल हुँदैन तिमीलाई मैले बिर्सेको ।

यति धेरै सम्झिएँ कि मैले कहिल्यै भुल्नै सकिन । मेरा पिछा गर्दै आएका यादहरुले तिमीलाई भुल्न दिएनन् । लाग्दैछ दुःखहरु नै साथी हुन् जिन्दगीका । सँगै हास्ने रुँने तिमी कहिल्यै नभेट्ने ठाउँमा गएपछि म कसरी हाँसु र कसरी बाँचु ? भनन् तिमी आफै । मलाई थाहा छ सरोज, मैले लेखेको यो पत्र तिमीसम्म पुग्दैन अनि मैले व्यक्त गरेका मेरा यी भावना पनि तिमिले सुन्दैनौं । तर पनि मनको पीडा कम हुने आशाका साथ पत्र लेख्दै छु ।
दुनियाँले पोइटोकुवा भनेको सुनेर म अघाईसकेकी छु, सरोज । तिमी निष्ठुरी रहेछौं । मैले तिमीलाई माया नगरेको कुनै दिन थिएन तर पनि छोडर गयौँ । मैले तिमीलाई कुनै दोष पनि लगाउन चाहान्न । तर, सरोज तिमी मसँग नहुँदाको दोष म यो समाजलाई लगाउन बाध्य छु । यो खाण्डीसमाजले तिम्रो प्राकृतिक कमजोरीलाई अपराधको रुपमा नहेरेको तिमि यो संसारमै हुन्थ्यौँ होला । सबैले मलाई अभागीको भन्ने थिएनन् होला ।


कसैले पनि मेरो कुरा सुन्दैनन् । तिमीबाट कुनै जवाफ नआएपनि, तिमीले नसुनेपनि यसरी कापी र कलमलाई साथी बनाएर मेरा पीडालाई अक्षरमा परिवर्तन गर्न बाध्य भएकी छु । मलाई थाहा छ मेरो सरोज, तिमीसँग धेरै पीडा थियो । अनि मलाई छोडेर जानु तिमीसँग बाध्यता थियो होला तर किन आफु एक्लै गयौं ? मलाई सँगै किन लिएनौँ ? किन मलाई यसरी अलपत्र पारेर गयौं ? किन समाजको नजरमा पोइटोकुवा बनाएर छोड्यौं ? मेरो तिमिसँग यही गुनासो छ ।
तिमी मेरो जिन्दगी थियौं भनेर म कसरी सम्झाउँ यो दुनियाँलाई । मेरो संसारलाई कसरी टोक्न सक्छु ? किन बुझ्दैनन् मेरो पीडा ? आफ्नै ढुकढुकीलाई आफैबाट कसरी सधैको लागि टाढा गराउन सक्छु ?
यस्ता प्रश्न हरेक दिन यसैगरी आफुलाई मात्र गर्न सक्छु । अरु कोहीसँग सोध्ने बाटो नै छैन सरोज । खै कुन जन्ममा मैले के त्यस्तो पाप गरे । मलाई आज यस्तो सजाय दिईरहेका छन् मेरा समाजका अगुवाहरुले । अनि मेरा आफ्नै मान्छेले । तिमीसँग बिछोडिनु मेरा लागि सहि नसक्नु पीडा हो भनेर कसैले बुझ्दैनन् सरोज ।

आधा जिन्दगी तिमीसँग बिताएकी थिएँ । अनि कसरी तिमीसँग सजिलै म टाढा हुन सक्छु, कसरी तिमीलाई मनबाट हटाउन सक्छु । किन यो समाज अन्जान बन्दैछ मेरो दुःखमा । किन एकोहोरो मलाई मात्रै दोष लगाईरहन्छ ? सरोज के मैले तिमीलाई माया गरेकी थिइन र ? किन मलाई समाजले अपराधीको संज्ञा दिएको छ ? सरोज तिमी किन यसरी आफ्नी प्यारीलाई दोषी बनाएर गयौं ? किन तिमीले मलाई अपराधी बनाएर गयौ ? म कसलाई यो प्रश्न गरुँ ? सरोज । आफ्ना रहरहरुलाई मारेर भएपनि तिमी मलाई खुसी दिन्थ्यौं । कुनै दिन थिएन मैले गुनासो गर्नु परेको । तिमीले संसार छोड्नुको दोष किन मलाई लगाउँछ ? मैले बुझ्न सकेकी छैन सरोज ।
आश धेरै लाग्छ तर गर्न केही सक्दिन । मैले जति गरेपनि तिमी फर्किएर आउँदैनौं । सरोज तिमीलाई आज यो पत्र लेख्दा पनि बरबरी आँशु झरेका छन् । थाम्न सकिन यी आँसुका भेललाई । मलाई थाहा छ सरोज तिमीलाई म रोएको मन पर्दैन तर के गरुँ ? सरोज, तिमी बिनाको जिन्दगी जिउनुपर्दा म ज्युदै मरेकी छु पलपल…।
तिमी दृष्टिबिहीन रहेछाैं भन्ने कुरा थाहा पाउनेबित्तिकै म छाँगाबाट खसेजस्तै भएकी थिएँ । मैले तिमिसँग बोलेका शब्दहरु सम्झेर धेरै दिनसम्म म पीडा रहे । कुरै नबुझेर तिमिलाई गाली गरेकोमा आफैलाई अपमानित भएको अनुभूति धेरै दिनसम्म भएको थियो । मैले सरी भन्नुपर्ने ठाउँमा तिमिले भनिरहेका थियौँ ।

सरोज, मलाई ‘पोइटोकुवा’ देख्ने यो समाजलाई तिमि र मेरो प्रेमको बारेमा जानकारी गराउन चाहनछु । तिमिसँग कहिलै नभनेको कुरा पनि भन्न गइरहेकी छु । तिम्रो र मेरो भेट दाङमा भएको थियो । तिमी दाङकै थियौ म भने कैलालीको थिएँ । म मेरो प्रोजेक्टको कामले कैलालीबाट दाङमा पुगेकी थिएँ । त्यहाँ एउटा अफिसमा मेरो काम थियो । त्यो अफिसमा तिमी पनि थियौ । मेरो काम म्यानेजरसँग भएकोले मैले म्यानेजर कहाँ हुनुहुन्छ भनेर तिमीलाई नै सोधेँ र भित्र हुनुहुन्छ भनेपछि म भित्रै गएँ । ब्याग यतै राख्दा होला नि है मैले तिमीलाई हजुर हेर्दिनुस् ल म भित्र जान्छु भन्दै म भित्र गएँ तिमीले हुन्छ म्याडम भनेको थियौ ।
म काम सकेर आउँदा मैले पहिले राखेको ठाउँमा ब्याग थिएन । मैले आफ्नो ब्याग नदेखेपछि तिमीलाई बेस्सरी झपारेँ । अघि ब्याग हेर्दिन्छु भनेको होईन ? खोई मेरो ब्याग भन्दै तिमिलाई कस्तो मान्छे रैछ आँखा पनि देख्दैन कि क्या हो । कसले पो उठाएर लग्यो मेरो ब्याग ? मैले यति भनुन्जेल तिमी चुप थियौं ।

‘खै के मेरो ब्याग भनेको सुन्दैनौँ कस्तो खालको मान्छे होला’ मैले भनेपछि बल्ल तिमीले उ त्यो ढोको पछाडि छ म्याडम भन्यौं । त्यहीँ राख्न पठाको हो ? मेरो प्रश्नको उत्तरमा तिमिले म आँखा देख्दिन म्याडम भनेका थियौँ । ‘के गर्ने भगवानले जन्मजातै आँखा नदेख्ने बनाएर पठाए । सरी म्याडम एकछिन तपार्इँलाई टेन्सन दिएँ त्यसको लागि’ तिमिले भनेका थियौँ ।
तिमी दृष्टिबिहीन रहेछाैं भन्ने कुरा थाहा पाउनेबित्तिकै म छाँगाबाट खसेजस्तै भएकी थिएँ । मैले तिमिसँग बोलेका शब्दहरु सम्झेर धेरै दिनसम्म म पीडा रहे । कुरै नबुझेर तिमिलाई गाली गरेकोमा आफैलाई अपमानित भएको अनुभूति धेरै दिनसम्म भएको थियो । मैले सरी भन्नुपर्ने ठाउँमा तिमिले भनिरहेका थियौँ ।
अफिसबाट होटेलको कोठमा पुगे । मलाई केही गर्न मन लागेन । ल्यापटप खोलेँ, काम गर्ने जाँगर मरेर आयो । फेसबुक खोलेँ कोही साथीहरु अनलाइनमा थिएनन् । हेर्दै जाँदा अफिसकै म्यानजेजरलाई अनलाइनमा देखेँ अनि मैले सबै कुरा भनेँ ।
आज अफिसमा यस्तो घटना भयो भनेर । सरले पनि मलाई केहि चिन्ता नलिन भन्दै ‘…सरोज त्यस्तो खालको मान्छे छैन रिसाको छैन होला । तपाईँले त्यसरी त नभन्नु पर्नेहो पिर त मानेको छ होला । तैपनि म सम्झाउँला । एकदम राम्रो मान्छे हो उ सायद मैले भनेपछि त्यसरी नेगेटिभ नहोला’ तिम्रो अफिसको म्यानेजरले भनपछि थाहा भयो तिमीलाई अफिसमा कमल भनेर बोलाउने रहेछन् । मैले तिम्रो म्यानेजरलाई सोधेँ तिम्रो मोबाईल नम्बर । मैले तिम्रो नम्बर पाउने बित्तिकै तिमीलाई फोन गरेँ । फोन शुरुको दुईपटक त उठेन तर तेश्रो पटक भने फोन उठायाैं । मैले नमस्ते भनेँ, तिमीले नमस्ते पनि नफर्काएर ‘को बोल्नुभाको’ भनेर सोध्यौं ।
सरी है सर, मैले हजुरलाई हिजो त्यसरी नभन्नु पर्थ्याे मैले होसै गरेन् । मैले भनेपछि तिमीले हाँस्दै ‘म्याडम तपार्इँ अझैसम्म यही कुरालाई लिएर बसिरहनुभाको, मैल त त्यसरी लिएकै छैन’ भन्यौं । ‘हामी जस्तालाई एक दिनमा धेरैले यस्तो भन्छन्’ भनेको कुरा अहिलेजस्तै लाग्छ ।
मेरो अनुरोधमा तिमीले र मैले सँगै चिया पियौँ । त्यही बसाईमा मैले सोधेकी थिएँ तिम्रो बारेमा सबै कुरा । नाम कमल राना, घर दाङ, घरमा मम्मी बुवा बहिनी, एकजना दिदी र दाई । तिमी भन्दै थियौं मेरो घरमा अरु सबै आँखा देख्छन् म मात्र देख्दिन । कहिलेकाहिँ त लाग्छ कि आँखा नदेख्ने म त अभागी रहेछु तिमिले भनेका थियौँ । मैले जीवनमा हरेस खानु हुँदैन भनेर तिम्रो मनोवल बलियो बनाउन खोजेको अस्ती जस्तै लाग्छ । फेरि भेट्ने बाचा गरेर त्यो दिन हामी छुटियौँ ।

मेरो दाङको बसाई एक महिनाको थियो । १७ दिन बितिसकेको थियो । तिमीसँग नजिक हुन मन लागिरहन्थ्यो मलाई । तिमी पनि खुसी भएको देख्दा आनन्द आउँथ्यो मलाई । समय बित्दै थियो । एकदिन म फेसबुक खोलेर बसेकी थिएँ । तिम्रो अफिसको म्यानेजर रमेशले मलाई तपाईँलाई कमल कस्तो लाग्छ ? भनेर सोध्नुभयो । मैले भने स्मार्ट लाग्छ । एकदम राम्रो लाग्छ भनेर जवाफ दिएँ । उहाँले भन्नुभो साँच्चै ? भन्नु भयो । मैले हो भनेर जवाफ दिए । कमलले पनि मन पराउँदोरहेछ सरले भन्नुभयो । अब के छ तपार्इँको विचार ? उहाँले मलाई सोध्नुभयो ।
तिमिले भनेको भन्दै सरले मलाई विवाहको प्रस्ताव गर्नुभयो । प्रकृतिले तिमिमाथि गरेको विभेद मलाई मन परेको थिएन । जीवनभर तिम्रो सहयोगी बनेर प्रकृतिको विभेदविरुद्ध लड्ने वाचा मनमनै गरे र विहेको प्रस्तावलाई स्वकिार गरिदिए । उहाँले बधाई दिनुभयो । तर मलाई तिमिसँग कसरी भन्ने होला भन्ने चिन्ता लागिरहेको थियो । हाम्रो बिहेको कुरा अघि बढ्यो । घरमा पनि अलिअलि त थाहा दियौँ तर राम्रोसँग जानकारी भने थिएन ।
तिमी र म नेपालगंज आएर बस्यौँ केही दिन । त्यसपछि तिम्रो आफन्तलाई बोलाएर हामीले बागेश्वरी मन्दिरमा बिहे गर्यौँ । केही दिनको सम्बन्धले हामीलाई जिन्दगीभरको बन्धनमा बाध्यो । सरोज साँच्ची भनुँ भने मेरो घरमा तिमीसँग मैले विवाह गर्दा खुसी हुने कोही थिएन । सुरुमा त सबैले मलाई धेरै गाली गरेका थिए, यस्तासँग बिहे गर्ने भनेर ।
सब गलत थिए त्यतिबेला । तिम्रो भित्रि क्षमतालाई कसैले देखेको थिएन । सबैले मलाई आँखा नदेख्नेसँग बिहे गर्ने भनेर भन्नु नभन्नु भने तर मलाई जसले जे भनेपनि मतलब थिएन । तिमी मेरा लागि सर्वश्व थियौं । मेरो जिन्दगी थियौँ । मसँग तिमीलाई गुनासो गर्नु केही थिएन अनि खोट पनि केही थिएन तिमीमा ।
मलाई तिम्रो घरमा भित्र्याईयो, म तिम्री अर्धाङ्गिनी बनेर तिम्रो नामको सिन्दुर मेरो सिउँदोमा सजाएर भित्रीएँ । मलाई तिम्रो घरमा सबैले माया गर्नुहुन्थ्यो तर मेरो माईती घरमा भने मसँग सबै रिसाएका थिए । मैले बिस्तारै उहाँहरुलाई मनाउनुपर्ला भनेर सोचेको थिएँ । तिम्रो माया पाएर होला सायद मेरा माईतीले मलाई वास्ता नगरेपनि म दुःखी थिइँन ।
समय बिस्तारै बित्दै थियो तिमी र म हाँसी खुसी जीवन बिताईरहेका थियौँ । मेरो बुवाआमा पनि बिस्तारै हामीप्रति सकारात्मक हुँदै हुनुहुन्थ्यो । सुखी जीवन थियो । जसोतसो रमाएकै थियौँ हामी एक अर्काको साथमा । कुनै ठाउँ जानुपर्यो भने म तिम्रै साथमा जान्थेँ । तिमी कहिलेकाहीँ भन्ने गथ्र्यौ मसँग संसार देख्ने आँखा छैन र पनि तिमीलाई संसार ठान्छ्यौं । बाहिरी संसार कस्तो छ भन्नेमा अनविज्ञ छु तर तिमी मलाई दुनियाँ मान्छ्यौं भनेको पनि हिजो अस्तिजस्तै लाग्छ ।
तिम्रो जिन्दगीको सहयोगी बन्ने भनेर आमा बुबाको खुशीलाई त्यागे । तिमिसँग भेट हुन भन्दा पहिलेको कल्पनाको संसारलाई मैले त्यागे । हामी खुशीमै थियौँ । तर तिमिले संसार छोड्नुको दोष मलाई लगाईदैछ । तर, अहिले म तिम्रो अपराधी भएर बाँच्च बाध्य छु । यो समाजले बुझ्दैन मलाई, बुझ्ने तिमी थियौं । अरु कोही छैन । तिमी मात्र यादहरु छोडेर गयौँ ।
हामी पहिलो पटक मेरो माइत बोलाएका थिए । तिमिलाई माइती लिएर जान पाइने भो भनेर म निकै खुशी थिए । मेरा आमाबुबालाई मेरो खुशीबारेमा भन्छु भन्ने मनमनै सोचेकी थिए । तर तिमिले भने केही अप्ठ्याराे  मानेको अनुभूति मैले गरेकी थिएँ । तर मैले ठूलो लिइन । तिमिले आफ्नो प्राकृतिक कमजोरीका कारण त्यो महशुस गरेका थियौँ ।
माईती घर जानुकाे अघिल्लो साँझ खाना खाएर सबैजना आ-आफ्नो कोठातिर लाग्यौँ । तिमी र म पनि कोठामा गएका थियौँ । सिँडीमा चढ्ने बेलामा मैले तिम्रो हात समाएकी थिएँ । तिमीले भन्यौं, ‘कतिन्जेल मेरो हात समात्छेउ ?’ मैले मजाक गरेर भनेँ, ‘माथि कोठामा जानेबेलासम्म अनि । के सोधिराको फेरि यस्तो ? खाली यस्तो यस्तो कुरा गर्न तिमीलाई कसले सिकाउँछ हँ ।’ तिमिले यस्ता कुरा गर्ने बेला सधैं झैं म रिसाए । ‘म नभएपछि त तिमीलाई बरु आनन्द हुन्थ्यो होला है यसरी डोर्याएर हिँड्न नि पर्थेन’ तिमिले फेरि भन्यौँ । ‘यस्तो कुरा नगर है’ भनेर अलिकति झर्किएँ । तिमीले भन्यौ, ‘मैले साँच्चै त भन्याछु ।’ हामी सुत्यौं । यो रात नै तिम्रो र मेरो अन्तिम रात भयो । बाँकी अर्को पत्रमा ….
onlinedabali.com
Previous Post Next Post