भारु पाँच सय र हजार भएका नेपालीलाई खुसीको खबर !


काठमाण्डु, २८ कात्तिक– मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि फैलिँदो छ ।



कालो धन रोक्ने उद्देश्य राखिएको उक्त घोषणाले भारुमा कारोबार गर्दै आएका नेपाली व्यापारीदेखि सीमा क्षेत्रका सर्वसाधारणलाई अलमलमा पारिदिएको छ । मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आफैँ भारतीय नोट सटहीको अनुमतिका लागि भारतीय रिजर्भ बैङ्कको निर्णयको प्रतीक्षामा रहेकाले सटही सुविधा पाउने अथवा नपाउने पिरलो सर्वसाधारणमा यथावत् छ ।

भारतीय बैङ्क तथा एटीएममा नोट साट्ने काम सुरु भइसक्दा पनि नेपालमा यसबारे औपचारिक जानकारी नआउँदा द्विविधा थप बढ्दो छ ।

नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले भने आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिएको छ । नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

‘उता (भारत) बाट हामीसँग भएको भारतीय नोटको जानकारी माग भएको छ’, उनले भने, ‘त्यसैअनुसार हामीले भारतीय नोट रहेका बैङ्क वित्तीय संस्थासँग रकमको विवरण मागेका छौँ ।’

केन्द्रीय बैङ्कलाई बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच सय र एक हजारका दुई करोड ५२ लाख भारतीय नोट सञ्चित रहेको पाइएको छ । त्यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमा गरी ८० लाख भारु प्रचलनमा रहेको तथ्याङ्क राष्ट्र बैङ्कले पाएको छ ।

राष्ट्र बैङ्कले अहिलेसम्म तीन करोड ३६ लाख ९० हजार भारतीय रुपियाँको विवरण पाएको शिवाकोटीले जानकारी दिए । अझै पनि केही बैङ्क तथा वित्तीय संस्थाको शाखाबाट पूरा विवरण नआएकाले २० लाखसम्म रकम बढ्नसक्ने राष्ट्र बैङ्कको अनुमान छ ।

गोरखापत्रबाट
Previous Post Next Post