काठमाडौं, २६ कात्तिक – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ एन्डिया (आरबीआई) ले नेपाल राष्ट्र बैंकसँग रहेको भारु पाँच सय र हजार दरका नोटको विवरण मागेको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।
भारतमा पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लागेपछि राष्ट्र बैंकले बुधबार नेपालमा रहेका ती दरका नोट सटहीका लागि आरबीआईलाई पत्राचार गरेको थियो ।
बिहीबार साँझसम्म आरबीआईले सटही सुविधाको बारेमा कुनै जानकारी नदिई विवरण मात्रै मागेको छ । राष्ट्र बैंक र बैकिङ प्रणालीमा रहेका ती दरका नोटको विवरण आरबीआईले मागेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।
‘बैंकिङ प्रणालीमा कुन कुन दरका कति नोट छन् ? उक्त विवरण आरबीआईले मागेको छ,’ उनले भने, ‘सोहीबमोजिम विवरण हामीले पठाइसकेका छौ ।’ यसका आधारमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा रहेको भारु नोट सटहीमा सजिलो हुने उनले जनाए ।
यसका साथै सर्वसाधारण नागरिकसँग रहेको भारु पाँच सय र हजार दरका नोट सटहीका लागि राष्ट्र बैंकले आग्रह गरिरहेको पनि उनले बताए । ‘राष्ट्र बैंककै अनुमति अनुसार नागरिकले प्रतिव्यक्ति २५ हजार भारतिय रुपैयाँ सटही सुविधा पाएका छन,’ उनले भने, ‘उक्त कारण राष्ट्र बैंकले दिएको सिमा बराबरको नोट सटहीका लागि आग्रह गरिरहेका हौं ।’
राष्ट्र बैंकले बुधवार विहान ११ बजेभित्र आफूसँग रहेको भारु पाँच सय र हजार दरका नोटको विवरण पठाउन बैंक तथा वित्तीय संस्था र मनी चेञ्जर कम्पनीहरुलाई निर्देशन दिएको थियो । बिहीवार साँझसम्म राष्ट्र बैंकमा प्राप्त तथ्यांक अनुसार राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र मनी चेन्जर कम्पनीहरुसँग गरी करिब साढे ३ करोड रुपैयाँ बराबरको पाँच सय र हजार दरका नोट रहेको ढुङगानाले बताए ।