असोज २८ गते बिहान ट्राफिक प्रहरी कार्यालय दरबारमार्ग वृत्तका प्रमुख सुनिलजंग शाहको कार्यकक्षमा ट्याक्सी चालक युद्धबहादुर कार्की पुगे । कार्कीले आफ्नो ट्याक्सीमा चढेका एक अपरचित जोडी झोला बिर्सेको र आफू प्रहरीलाई बुझाउन आएको बताए।
चालकले इमान्दारिता साथ सुन गहना सहितको झोला बुझाउन आएको उनी अचम्म परे । ‘म त अचम्ममा परेँ, ट्याक्सी चालकले यसरी इमान्दारितासाथ सुनचाँदी बुझाउलान् भनेर’ उनले भने । चालक कार्की २७ गते बिहान ४ बजे एक परिचित मान्छेलाई छोड्न कलंकी पुगे ।
कलंकीबाट एकजोडी उनको ट्याक्सीमा चढे । एक बच्चासमेत बोकेका ती जोडी विजेयश्वरी पुग्नजेलसम्म केही बोलेनन् । ‘रात्री बसमा आएको हुनपर्छ, अनिंदोजस्ता देखिन्थे,’ चालक कार्कीले भने, ‘ त्यसकारण पनि उहाँहरुबीच एकआपसमा कुराकानी नगरेको हुनुपर्छ ।’
त्यसपछि कार्की नयाँ बसपार्कतिर लागे । त्यहाँबाट दुई जना युवा शंखमूल लागि उनको ट्याक्सीमा चढे । बीचबाटोमा ती युवाले ट्याक्सीमा लेडिज झोला रहेको चालक कार्कीलाई जानकारी दिए । तर चालक कार्की विहान चढ्ने परिचितको छुटेको हुनसक्ने अनुमान गरे । ‘मलाई खास त्यति वास्ता थिएन, बेलुका घर फर्केर हेरें त, सुनचाँदीका गरगहना अनि ती जोडीको तस्बिर,’ उनले भने, ‘ श्रीमति र छोरासँग केही भनेर, सिधै ल्याएर ट्याक्सीभित्रै राखेँ, किनभने आखिर मानिसको मन लोभी हुन्छ, फिर्ता नगरौं पनि भन्न सक्छन् ।’
‘श्रीमतीको सानोतिनो जागिर छ, छोरा हिमालयन कलेजमा इन्जिनियरिङ अध्ययन गर्छ’ चालक युद्धबहादुरले भने, ‘मलाई पुग्दो छ, आखिर मान्छे हो, जति भए पनि पुग्दैन, त्यसकारण मैलै कसैलाई केही नभनीकन प्रहरीमा बुझाएँ, ती जोडी दु:ख गरेर जोडेका गहना होलान् ।’
सोलखुम्बुका कार्की २०६३ देखि ट्याक्सी चलाउन थालेका हुन् । रिभर गाइड कार्की माओवादी द्वन्द्वमा पर्यटन व्यवसाय धराशायी भएपछि ट्याक्सी चलाउन थालेका हुन् । ‘श्रीमतीको सानोतिनो जागिर छ, छोरा हिमालयन कलेजमा इन्जिनियरिङ अध्ययन गर्छ’ उनले भने, ‘मलाई पुग्दो छ, आखिर मान्छे हो, जति भए पनि पुग्दैन, त्यसकारण मैलै कसैलाई केही नभनीकन प्रहरीमा बुझाएँ, ती जोडी दु:ख गरेर जोडेका गहना होलान् ।’
तर प्रहरीसँग बुझाएको एक महिना हुँदासमेत आफ्नो गरगहना हराएका दाबी गर्न कोही नआएको उपत्यका ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले बताए । ‘ट्राफिक प्रहरीको फेसबुक पेजबाट पनि सार्वजनिक गरेँ तर कोही आएनन्,’ उनले भने, ‘तर चालकलाई धन्यवाद दिनैपर्छ, झण्डै चार लाख रुपैयाँ मूल्य बराबरको सम्पत्ति होला उनी इमान्दार रहेछन्, अहिले केही हराएको चिज फेला परेमा प्रहरीलाई बुझाउने चलन बढेको जस्तो छ ।’
७ दिन अघि अमेरिकाबाट नेपाल आएकी युश्मा पोखरेल मंगलबार चाबहिलबाट पुल्चोक जाँदा बाटो झोला खस्यो । बहिनीको स्कुटीको पछाडि बसेकी उनले झोला खसेको थाहा पाइनन् । पुल्चोक पुगेपछि झोला खसेको थाहा पाइन् । ‘म त छाँगा खसे जस्तै भए, अमेरिकाको सोसल सेक्युरिटी कार्ड लगायत केही महत्त्वपूर्ण कागजात थिए’ उनले भनिन्, ‘तत्काल पुल्चोकबाट फर्केँ, बाटोमा प्रहरीलाई सोध्दै गए, माइतीघर मण्डमा आएर ट्राफिक प्रहरीलाई सोधे, एक जना सर्वसाधारण झोला दिएको बताए, मन ढुक्क भयो ।’
३ सय ६४ डलर, ८४ हजार रुपैयाँ र २ हजार इन्डोनेसियन रुपैयाँ भएको उनले बताइन्। ‘पैसा गएकोमा खास त्यति दु:ख थिएन, तर कागजात हराएपछि निकै दु:खी भइसकेकी थिएँ,’ उनले भनिन्, ‘धन्यवाद, प्रहरी र ती सर्वसाधारणलाई जे भए पनि इमान्दार रहेछन्।’