नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ।
कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ। तर संयोग नै मान्नुपर्छ, अपरिचित नम्बरबाट आएको फोनकलबाट प्रेम भई एक नेत्रहीन जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन्।
प्रसङ्ग हो, उर्लाबारी–१ विशालटोलका नेत्रहीन दम्पती ३१ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँबजारकी २४ वर्षीया सम्झना लिम्बूबीचको।
झट्ट सुन्दा फिल्मको कथाजस्तो लागेपनि वास्तविक जीवनको कुरा हो यो । अनजानमै सम्झना लिम्बूको मोबाइल नम्बरमा मिस्कल हान्नुभएका बयलकोटीले केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाम्न नसकेपछि निरन्तर ‘मिस कल’ गरिरहनुभयो।
एक दिन मोबाइलको घण्टी बज्यो । होमले हत्तपत्त फोन उठाउनुभयो, तर फोन काटियो । सोही नम्बरमा फेरि फोन दबाउनुभयो । पहिलोपटकमा फोन उठेन, अर्काेपटक पुनः फोन गर्दा तीनै केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । आफूले माया गर्ने र बिहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको बताउनुभयो।
सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताउनुभयो। त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो । निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो।
त्यसपछि विर्तामोडमा भेट्ने भन्ने कुराको सल्लाह भयो । उहाँहरुबीच भेट भयो । दुवैजना एकअर्काबीच छुट्नै नसक्ने हुनुभयो । त्यसपछि उहाँहरुले प्रेम विवाह गर्नुभयो । होमबहादुर बयलकोटीले भन्नुभयो, “दुःख गरेर भएपनि सम्झनासँग खुसी छु ।” उहाँहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् ।